Wednesday, December 29, 2010

चिरञ्जीवीलाई नामको चटारो


नेपाली चलचित्र क्षेत्रमा प्रायः शीर्षकको अभाव हुने गरेको छ । त्यसमाथि ज्योतिषलाई देखाएर शीर्षक जुराउने चलनले निर्माताहरूलाई नाम जुराउन हम्मे हम्मे पर्ने गरेको छ । शीर्षकले चलचित्र फलिफाप हुने विश्वासले उनीहरू राम्रो शीर्षक खोज्न निकै भौँतारिन्छन् । कतिपयले त शीर्षक नै बदलेका पनि छन् । सुरुमा एउटा नाम घोषण गर्‍यो पछि अर्को नाम राख्यो । यही कोटीमा परेका छन् ननस्टप निर्माताका रूपमा परिचित चिरञ्जीवी बस्नेतलाई ।
कुनै समय ‘च’ अक्षरका प्रेमी उनले चोर, चण्डाल, चमत्कार, चलचित्र जस्ता नाम राखी चलचित्रसमेत बनाँएका थिए । डेढ वर्षअघि एक ज्योतिषले उनलाई ‘भ’ अक्षर फलिफाप हुने भनिदिएपछि उनी ‘भ’ को पछि निकै लागे । ज्योतिषकै लहलहैमा उनले भागी भागी नजाउ, भिष्मराज र भुल्नै सकिन शीर्षकमा तीनवटा चलचित्र नै बनाए । यीमध्ये भागी भागी नजाउ मोफसलमा प्रदर्शन पनि भइसकेको छ तर चलचित्रले पानी पनि पिउन नपाएपछि उनी निकै अतालिएका छन् ।
शुभ अक्षर भनिएको ‘भ’ अक्षरबाट शीर्षक जुराउँदासमेत चलचित्र नलचेपछि चिरञ्जीवी यतिबेला -उसो त चिरञ्जीवीको कुन चाहिँ चलचित्र पो सफल भएको छ र !) अर्कै ज्योतिषको शरणमा पुगेका छन् । ती ज्योतिषले ‘भ’ हैन ‘म’ पो शुभ छ भनेपछि उनी रणभुल्लमा परेका छन् । ज्योतिषले शुभ अक्षर नै भनेपछि उनले चलचित्र ‘भुल्नै सकिन’को शीर्षक बदलेर ‘मैले भुल्नै सकिन’ राखे ।
थोरै मात्र प्रचार सामग्री बनाइएको कारण यस चलचित्रको नाम बदल्न सजिलो भयो तर धेरै प्रचार सामग्री बनाइएको ‘भिष्मराज’ को शीर्षक भने उनले नफेर्ने भएका छन् । फेरे त लाखौँ रुपियाँ घाटा लागिहाल्छ नि ! यतिबेला उनी निकै द्विविधामा परेका छन् । नत्र उनी अर्कै अक्षर थपथाप गरेर नयाँ नाम दिन कहाँ पछि पर्थे र ?

No comments:

Post a Comment